बुटवल, ३० फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिले युवा क्रिकेटर खेलाडीहरुलाई सम्मान गरेको छ । काठमाण्डौमा सम्पन्न प्याब्सन क्रिकेट लिग यु –१५ ब्यायज (पिसिएल) २०८२ को उपविजेता बन्न सफल लुम्बिनी प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
एक समारोहका बिच लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, प्याब्सनका लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, कोषाध्यक्ष महेश भुर्तेलले खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैया, सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले पछिल्लोसमय नेपाल क्रिकेटमय भएको दाबी गर्दै क्रिकेटमा सरकारको लगानी बढाउनुपर्ने अवस्था सृजना भएको बताए । ‘नेपालमा खेल क्षेत्रमा सरकारको न्यून लगानी भएको छ ।’–उनले भने । लगानीको तुलनामा धेरै योगदान खेलाडीहरुबाट देशलाई दिएको उनले तर्क दिदै श्रोतसाधन भन्दा आत्मविश्वासमा खेलाडी टिकेको बताए । देशका लागि योगदान गर्ने खेलाडीलाई सम्मानसंगै खेलबाट जिवन जिउने अवस्था सृजना गर्ने वातावरण बनाउने गरि सरकार र सरोकारवाला निकायहरुबाट खेल प्रतियोगिता निरन्तर गर्नुपर्ने बताए ।
कार्यक्रममा प्याब्सनका लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले थुप्रै जटिलताका बिच प्याब्सनबाट प्रतियोगिता सम्पन्न भएको बताए । खेलाडी छनौटदेखि आयोजनासम्म कठिनाई र मेहनतबाट कार्यक्रम भएको उनले स्मरण गरे । जहाबाट खेल र खेल गतिविधि भएपनि खेलाडी देशको हुने उनले तर्क दिए । संस्कारसहितको शिक्षालाई आाफुहरुले जोड दिएर खेलाडी र सीप विकासलाई अघि बढाएको उनले बताए ।
प्याब्सन काठमाडौंको आयोजनामा यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको थियो । प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहेको थियो ।



















