बुटवल, २५ असार ।
बुटवलमा सम्पन्न ‘मोडल अफ लुम्बिनी सिजन–३’ को ग्रान्ड फिनालेमा एभरेस्ट बोर्डिङ सेकेन्डरी स्कुलका आमूल सिङजाली मगर विजेता घोषित भएका छन । युवा प्रतिभाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विस्तार गर्ने उद्देश्यले म्याजिस्टिक ग्रुप अफ इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको प्रतियोगिताको १५ जना प्रतियोगीलाई पछि पार्दै मगर विजेता बनेका हुन । फाइनलमा आयुषमान जिसी अन्तर्राष्ट्रिय विजेताका रूपमा छनोट भए ।
प्रतियोगितामा मेगा मोडल लुम्बिनी–२०१८ सिमृत कोर, लिटिल फिङ्गर इन्टरनेसनल मोन्टेसरीकी प्रबन्ध निर्देशक लक्ष्मी पोखरेल भुसाल तथा मिस्टर टिम ल्याम इन्टरनेसनल–२०२३ सजल शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास, र्याम्प वाक तथा समग्र प्रदर्शनका आधारमा विजेता छनोट गरेका थिए ।
कार्यक्रममा एभरेस्ट बोर्डिङका भाइस प्रिन्सिपल भीमसेन गौतम, सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सका सेल्स म्यानेजर गौतम पाण्डे, मोडर्न डायग्नोस्टिक सेन्टरका सुमन पाठकले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरे । सोही अवसरमा आगामी जुलाई २९ मा मलेसियामा आयोजना हुने टुरिजम एम्बास्डर युनिभर्स ईन्टरनेश्नल २०२६ सिजन आठमा नेपालको प्रतिनिधित्व गर्न जाने देभ जैसवाललाई विशेष रूपमा क्राउनिङ गर्दै अतिथिहरुले शुभकामना दिएका थिए ।
प्रतियोगिताका संस्थापक मन्जेस गिरीका अनुसार विजेताहरूले एभरेस्ट बोर्डिङ तथा स्पार्क एजुकेशन एण्ड भिसा सर्भिसेजबाट ६ महिनाको छात्रवृत्ति, निःशुल्क स्वास्थ्य परीक्षण सेवा, आकर्षक क्राउन, स्याससहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछन् । प्रारम्भिक चरणबाट छनोट भएका १६ जना प्रतिस्पर्धीले उपाधिका लागि फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।



















