Spread the love

बुटवल । रूपन्देही व्यापार संघको वस्तुगत उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गर्दै आयोजना गरेको दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित बुद्धमाया गार्डेनमा सोमबार समापन कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले बदलिँदो व्यावसायिक परिवेशमा नेतृत्व क्षमता, समन्वय र संस्थागत सुदृढीकरण अपरिहार्य रहेको बताए ।

व्यवसायीहरूको व्यक्तित्व विकाससँगै संघको प्रभावकारी कार्यसम्पादनमा सकारात्मक योगदान पुग्ने उनले दाबी गरे । संस्थाको दिगो विकासका लागि सक्षम, जिम्मेवार र दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूबीच सहकार्य, समन्वय र नेतृत्व क्षमताको विकास गर्न यस्ता तालिम प्रभावकारी हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले भौतिक समृद्धिबाट मात्र मानिसलाई खुसी बनाउन नसक्ने भन्दै वर्तमान समयमा बुद्धको शिक्षा, नैतिकता र करुणाको महत्व अझ बढेको बताए । व्यवसायलाई नाफामुखी मात्र नभई मानवीय मूल्यसँग जोड्न सके दिगो शान्ति र समृद्धि सम्भव हुने उनको सुझाव थियो ।

संघका सल्लाहकार तथा सहजकर्ता मुकुन्द ज्ञवालीले नेतृत्व तथा व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, समूह व्यवस्थापन, निर्णय क्षमता र संस्थागत सुदृढीकरणका विषयमा सहजीकरण गरे । व्यापार–व्यवसायमा आएको सुस्तताका कारण धेरै उद्योगी–व्यवसायी मानसिक तनावमा रहेको उल्लेख गर्दै उनले व्यवसायसँगै मानसिक स्वास्थ्यप्रति पनि सचेत रहन आग्रह गरे ।
अर्का सहजकर्ता सुबोध भट्टराईले ग्राहकसँगको व्यवहार र संवादबाट व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै ग्राहक सन्तुष्टि र सम्मानलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए ।

संघका महासचिव प्रकाशराज पौडेल, कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यकारी प्रमुख सरोज पोखरेलले तालिमको महत्व र संस्थागत एकताबारे प्रकाश पारे ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्