काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
महाशाखाले हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका केही स्थान तथा कोशी र मधेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिमका तराई तथा मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका सडकमा यात्रा गर्ने तथा बाढी र डुबानको जोखिम रहेका स्थानका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।





















