काठमाडौं,१२ साउन ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् । चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामुहिक राजीनामा बुझाएका छन् ।
घटनापछि अस्पतालभित्र चिकित्सकहरू असुरक्षित महसुस गरिरहेको बताउँदै उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहका अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समिति तर्फका गरी ९० जना चिकित्सक मध्ये ६८ जना चिकित्सकले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका छन् ।
चिकित्सकहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन असम्भव भएको उल्लेख गरिएको छ । चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि समेत आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।




















