बुटवल । भारतबाट नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटक भित्राउन नेपाल र भारतका पत्रकार, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिबीच सहकार्य र एकता अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीको आयोजनामा बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले भारतीय पर्यटकलाई लक्षित गरी आध्यात्मिक पर्यटन प्याकेज तयार गर्दै त्यसको प्रभावकारी प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भ मेलाका बेला करोडौं तीर्थयात्री पुग्ने उल्लेख गर्दै नेपालका धार्मिक गन्तव्यलाई त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले सीमाबाट केही घण्टाको दूरीमै रहेका लुम्बिनी, पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी, रुपन्देहीको सिद्धबाबा, कालीगण्डकी हुँदै मुक्तिनाथ तथा गुल्मीको रेसुङ्गा र अर्घाखाँचीको सुपा देउराली जस्ता ऐतिहासिक तथा धार्मिक गन्तव्य समेटेर आकर्षक र किफायती आध्यात्मिक पर्यटन प्याकेज विकास गर्न नाट्टा लुम्बिनीलाई आग्रह गरे । भारतीय पत्रकार र पर्यटन व्यवसायीसँग संयुक्त रूपमा बुटवलमा आध्यात्मिक पर्यटनसम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने समेत उनले प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख जनक शाहीले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सुरक्षित र सहज वातावरण उपलब्ध गराउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताए । उनले भारतीय पर्यटकलाई निर्धक्क भएर नेपाल भ्रमण गर्न आग्रह गरे ।
पाँचतारे होटल हायातका सञ्चालक समिति अध्यक्ष तथा समाजसेवी चुन्नु प्रसाद पौडेलले लुम्बिनी क्षेत्रमा भारतीय पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउन होटल पूर्वाधार पर्याप्त रहेको बताए । उनले धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धनका लागि होटल क्षेत्र पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई विशेष सुविधा प्रदान गरिरहेको जानकारी दिए ।
भारतीय पर्यटक लक्षित पर्यटन योजनालाई सफल बनाउन भारतमा प्रचार–प्रसारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले नेपाल–भारतबीच पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका महासचिव राजेश महतरा, नाट्टाका केन्द्रीय सदस्य लेखनाथ भण्डारी, पर्यटन परिषद् लुम्बिनीका अधिकारी जनक खनाल, नाट्टा लुम्बिनीका सल्लाहकार अनिलमान श्रेष्ठ, सागर अधिकारी, होटल हायातका सीईओ नितेश मालपानी, बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष नरिश्वर पौडेल, नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले नेपाल–भारतबीचको पर्यटन सहकार्य विस्तार गर्न पत्रकार, पर्यटन व्यवसायी र स्थानीय सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
भारतीय पर्यटकलाई लक्षित गरी आध्यात्मिक पर्यटनको सम्भावना उजागर गर्न संयुक्त प्रचार अभियान सञ्चालन, पर्यटन प्याकेज निर्माण तथा सीमापार सहकार्यलाई थप मजबुत बनाउनु अहिलेको आवश्यकता भएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।





















