बुटवल, ५ असार ।
लोकप्रिय लोक दोहोरी गायक रामजी खाँड र गायिका निर्मला खनाल भण्डारीको स्वरमा सजिएको नयाँ गीत ‘पाखा लगायौ’ सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ निकै लोकप्रिय बनिरहेको छ ।
यो गीत विशेष गरी आजभोलिका युवा पुस्तामाझ बढ्दै गएको प्रेम र त्यसपछि हुने बिछोडको कथालाई लक्षित गरेर तयार पारिएको हो । आधुनिक समाजका युवाहरूको वास्तविक भावना र प्रेमको भोगाइलाई गीतमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसका कारण सार्वजनिक भएको छोटो समयमै यसले युट्युबमा निकै राम्रो भ्युज र सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।
सार्वजनिक गीतमा गायिका निर्मला खनाल भण्डारीकै शब्द तथा संगीत रहेको छ भने यसको उत्कृष्ट संगीत संयोजन (एरेन्ज) कृष्ण केसीले गरेका छन् । मरुनी स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् ।
युवा पुस्ताको बिछोडको पिडालाई पर्दामा उतार्न भिडियोको अभिनय पक्षलाई पनि निकै बलियो बनाइएको छ। भिडियोमा चर्चित मोडल बादल घिमिरे र रचना न्यौपानेका साथै कलाकार रिदम न्यौपाने को अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त अभिनयले गीतको मर्मलाई अझ बढी प्रगाढ बनाएको छ । गीतले पाएको राम्रो भ्युज र प्रतिक्रियाबाट निर्माण टिम उत्साहित देखिएको छ।





















