Spread the love

 

मानव शरीरमा रगतको कुनै कृत्रिम विकल्प छैन । दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, थालासेमिया, हेमोफिलिया लगायतका गम्भीर स्वास्थ्य अवस्थाका बिरामीको उपचारमा रगत अपरिहार्य हुन्छ। त्यसैले रक्तदानलाई जीवनदानसँग तुलना गरिन्छ। एक स्वस्थ व्यक्तिले गरेको एउटा सानो रक्तदानले एकभन्दा बढी बिरामीको जीवन बचाउन सक्छ। यही मानवीय भावनालाई सम्मान गर्दै नेपालमा प्रत्येक वर्ष श्रावण १२ गते रक्तसञ्चार दिवस मनाइन्छ ।

रक्तसञ्चार सेवाको ऐतिहासिक यात्रा

विश्वमा रक्तसञ्चार सेवाको इतिहास चार सय वर्षभन्दा पुरानो छ। वैज्ञानिकहरूको लामो अनुसन्धानपछि मानव शरीरमा एउटै रक्तसमूहको रगत सुरक्षित रूपमा अर्को व्यक्तिमा सार्न सकिने वैज्ञानिक आधार स्थापित भयो। सन् १९०१ मा डा. कार्ल ल्यान्डस्टेनरले ए, बी र ओ रक्तसमूहको खोज गरेपछि रक्तसञ्चार सेवाले नयाँ युगमा प्रवेश ग¥यो। यही योगदानको सम्मानस्वरूप उनको जन्मदिन १४ जुनलाई विश्व रक्तदाता दिवसका रूपमा मनाइँदै आएको छ।

नेपालमा भने वि.सं. २०२३ साल श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठाबाट औपचारिक रक्तसञ्चार सेवा सुरु भएको थियो। पहिलो वर्ष १५७ युनिट रगत संकलन गरेर सेवा सुरु भएको यो अभियान आज देशभर विस्तार भइसकेको छ। यही ऐतिहासिक दिनको स्मरणमा नेपाल रेडक्रस सोसाइटीले प्रत्येक वर्ष श्रावण १२ लाई रक्तसञ्चार दिवसका रूपमा मनाउँदै आएको छ।

६० वर्षमा उल्लेखनीय उपलब्धि

नेपालको रक्तसञ्चार सेवाले ६ दशकमा उल्लेखनीय फड्को मारेको छ। अहिले देशभर १०० भन्दा बढी स्थानबाट रगत तथा रक्ततत्त्व व्यवस्थापन भइरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभर २ लाख ९१ हजार ३१९ युनिट रगत संकलन गरी ४ लाख ४ हजार ५९७ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई वितरण गरिएको तथ्यांकले सेवाको विस्तार र आवश्यकतालाई स्पष्ट पार्छ।

एक समय पैसा लिएर रगत बेच्ने प्रचलन रहेको नेपालमा अहिले स्वैच्छिक रक्तदान सामाजिक अभियानका रूपमा स्थापित भएको छ। सरकारद्वारा रगतको बेचबिखन अवैध घोषणा गरिएपछि स्वयंसेवी रक्तदाताको संख्या निरन्तर बढ्दै गएको छ। आज राजनीतिक दल, सामाजिक संस्था, सहकारी, बैंक, विद्यालय, धार्मिक संस्था र युवा क्लबहरूले नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन्।

रुपन्देही : रक्तदान अभियानको नमुना जिल्ला

रुपन्देही जिल्ला स्वैच्छिक रक्तदान अभियानको अग्रणी जिल्लामध्ये एक हो। बुटवल ब्लड बैंक र सिद्धार्थनगर इकाइबाट मात्रै आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ७ सय युनिट रगत संकलन गरी ३९ हजार ४३ युनिट रगत तथा रक्ततत्त्व वितरण गरिएको छ। यस क्षेत्रमा करिब ६ सयभन्दा बढी संघसंस्थाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन्, जसले सुरक्षित रगतको उपलब्धतामा महत्वपूर्ण योगदान पु¥याएका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले मात्र गत आर्थिक वर्ष ४ हजार २७९ युनिट रगत संकलन गरी उत्कृष्ट संस्थाको सम्मान प्राप्त गरेको छ। तिलोत्तमा शाखा, देवदह शाखा तथा अन्य स्वयंसेवी संस्थाहरूले पनि रक्तदान अभियानलाई निरन्तर सशक्त बनाइरहेका छन्।

अबको चुनौती : निःशुल्क रगत वितरण

रक्तदान स्वैच्छिक रूपमा निःशुल्क हुने भए पनि बिरामीले रगत तथा रक्ततत्त्वका लागि शुल्क तिर्नुपर्ने अवस्था अझै कायम छ। यसले स्वैच्छिक रक्तदानको मूल भावनामाथि नै प्रश्न उठाएको छ। स्वयंसेवी रक्तदाता संस्थाहरूले राज्यले सम्पूर्ण व्यवस्थापन खर्च व्यहोरेर रगत तथा रक्ततत्त्व निःशुल्क उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा रगत तथा रक्ततत्त्व निःशुल्क गर्ने पहल थालेको छ भने केही स्थानीय तहले पनि यस अभियानमा सहकार्य गरेका छन्। यस्ता प्रयासलाई देशव्यापी बनाउँदै सबै नागरिकले आर्थिक अभावका कारण रगतको अभाव भोग्न नपर्ने व्यवस्था गर्न आवश्यक छ।

रक्तसञ्चार दिवसको सन्देश

श्रावण १२ केवल एउटा स्मरण दिवस होइन, सुरक्षित रगतको महत्त्व बुझाउने, नियमित रक्तदातालाई सम्मान गर्ने र नयाँ रक्तदाता तयार गर्ने अवसर पनि हो। सुरक्षित र पर्याप्त रगतको उपलब्धता सरकार, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, स्वयंसेवी संस्था र आम नागरिकको साझा जिम्मेवारी हो।

यस वर्षको रक्तसञ्चार दिवसले ६० वर्षे उपलब्धिको समीक्षा मात्र होइन, आगामी दिनमा शतप्रतिशत स्वैच्छिक रक्तदान, गुणस्तरीय रक्तसञ्चार सेवा, प्रभावकारी नियमन र सबैका लागि निःशुल्क तथा सहज रगत उपलब्ध गराउने लक्ष्यलाई थप सुदृढ बनाउने प्रेरणा दिन सकोस्। यही नै रक्तसञ्चार दिवसको सार्थक सन्देश हुनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्