बुटवल, ७ चैत ।
मुस्लिम धर्मावलम्बीहरुले शनिबार आफनो महान् चाड ईदउल फित्र (ईद) पर्ब हर्षाेल्लासका साथ मनाउँदै छन् । एक महिनासम्म लगातार रोजा बसेका मुस्लिम धर्मावलम्बीले आज इर्द पर्ब मनाउन लागेका हुन् ।
अरबी पात्रो हिजरी संवत अनुसार मुस्लिम धर्ममा दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा परिकार खान दिने चलन छ । ईद पर्बका अवसरमा मुस्लिम धर्मावलम्बीले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।
अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गर्दछ । नवौं महिनाको अन्तिम दिन हिजो (शुक्रबार) बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाउन लागिएको हो । खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको हो ।
इर्द पर्बको अर्को उल्लेखनीय पक्ष भनेको दीनदुःखी र गरिबलाई दान दिनुपनि हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ ।
ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा त्यस बराबरको नगद दान पनि गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दानपनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।





















