काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले महँगी, बेरोजगारी, भ्रष्टाचार र युवा पलायनजस्ता जनजीविकाका मुद्दालाई प्राथमिकतामा राख्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ । पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा सक्रिय सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ ।
अभियानको नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट सुरुवात गरेका छन् । वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि जनस्तरमा संवाद र जागरण आवश्यक रहेको कार्यक्रममा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अभियानका क्रममा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा थारूलगायत समुदायसँग प्रत्यक्ष संवाद गरिने पार्टीले जनाएको छ। उनीहरूका समस्या, गुनासा र सुझाव सङ्कलन गरी जनजीविकासँग जोडिएका विषयलाई समाधानका लागि सम्बन्धित सरकारी निकायसमक्ष पु¥याइने अपिलमा उल्लेख छ ।
पार्टीले महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्यालाई अभियानका प्रमुख विषय बनाएको छ। साथै, अभियानमार्फत सङ्गठन सुदृढीकरण, विगतका कमजोरीको समीक्षा र जनताप्रतिको उत्तरदायित्व बढाउने लक्ष्य लिएको जनाएको छ ।
यसैबीच, पार्टीले रसुवाको भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ। बेपत्ता नागरिकको खोजीमा तीव्रता दिन तथा क्षतिग्रस्त सडक, पुल, खानेपानी, सञ्चार र विद्युत् संरचनाको पुनर्निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई अभियानका प्रमुख उद्देश्यका रूपमा अघि सारिएको छ। भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य र समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्यसमेत पार्टीले लिएको छ । अभियानमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र तथा देश–विदेशमा रहेका नेपालीलाई सहभागी हुन संयोजक प्रचण्डले अपिल गरेका छन् ।






















