बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । दुर्घटनामा परी बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो ।
उपचारका क्रममा चिकित्सकले बिहान १० बजेर ८ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको उक्त कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए । दुर्घटनामा पहिलो कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य घाइते भएका छन्। सोही कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका कारण अवरुद्ध भएको राजमार्ग बिहान १० बजेर १५ मिनेटमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।






















