बुटवल । बुटवलको पर्यटन तथा मनोरञ्जन क्षेत्रमा नयाँ गन्तव्य थपिने भएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा करिब २ करोड रुपैयाँ लगानीमा १८ डी चलचित्रघर र ऐनाको भुलभुलैयासहितको ‘नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट सेन्टर’ सञ्चालनमा आउने भएको हो ।
स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ र फरक किसिमको मनोरञ्जन तथा साहसिक अनुभव प्रदान गर्ने उद्देश्यले नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिमार्फत ४ जना युवाहरुले केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । जसमा प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थविक्रम थापा र सुदीप काफ्लेको संयुक्त लगानी रहेको छ ।
केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने सञ्चालक दीपक ढकालले बताए । १८ डी चलचित्रघर केन्द्रको प्रमुख आकर्षण हुने भन्दै उनले चलचित्रका दृश्यअनुसार हावा, हिउँ, पानी, कुहिरोलगायतका विशेष प्रभाव तथा चल्ने र हल्लिने मोसन सिटमार्फत दर्शकले चलचित्रलाई हेर्ने मात्र नभई प्रत्यक्ष अनुभव गर्न सकिने बताए ।
त्यस्तै, ऐनाको भुलभुलैयाले आगन्तुकलाई ऐनै–ऐनाले बनेको संरचनाभित्र बाटो पहिल्याउँदै बाहिर निस्कने रोमाञ्चक अनुभव दिनेछ। परिवार, विद्यार्थी तथा पर्यटकका लागि यो नयाँ किसिमको मनोरञ्जनको माध्यम बन्ने सञ्चालकको अपेक्षा छ ।
सञ्चालक प्रकाश भुसालले बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप एउटा आकर्षण बन्ने बताए । उनका अनुसार मनोरञ्जनका नयाँ गन्तव्य थपिँदा पर्यटकको बसाइ लम्ब्याउन, स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन र बुटवलको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न सक्छ ।
केन्द्रमा मनोरञ्जनसँगै शिक्षा र पर्यटनलाई प्रविधिसँग जोड्ने योजना पनि रहेको छ। सगरमाथा, हिमाली क्षेत्र, प्राकृतिक सौन्दर्य तथा धार्मिक–सांस्कृतिक सम्पदालगायतका विषयलाई आधुनिक प्रविधिमार्फत अनुभव गराउने गतिविधि क्रमशः थप गर्ने तयारी रहेको सञ्चालकले बताएका छन् ।
बुटवल लुम्बिनी, पाल्पा, कपिलवस्तु तथा आसपासका पर्यटकीय गन्तव्यको प्रवेशद्वारका रूपमा समेत रहेको भन्दै सञ्चालकहरूले यहाँ आउने पर्यटकका लागि मनोरञ्जनको नयाँ विकल्प सिर्जना गर्ने लक्ष्य राखेका छन् ।




















