काठमाण्डौ, ६ कार्तिक । वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।
सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ । यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल हेर्नसमेत अनुरोध गरिएको छ । राष्ट्र बैंकले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित र सुदृढ बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ । पीएचपी वेब तथा सर्भरमा आधारित प्रणाली निर्माण गर्न व्यापक रूपमा प्रयोग हुने प्रविधि हो । यसमा देखिएका सुरक्षा कमजोरीको समयमै पहिचान र समाधान नगर्दा वेबसाइट तथा डिजिटल सेवाहरू जोखिममा पर्न सक्ने भएकाले राष्ट्र बैंकले सतर्कताका उपाय अपनाएको हो ।






















