काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको महाधिवेशनमा अध्यक्ष पदका लागि शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
प्रतिष्ठानको नेतृत्वमा पुगेसँगै लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्माको काँधमा नेपाली लोकसंगीतको संरक्षण, मौलिकताको प्रवद्र्धन र कलाकारको हकहितका लागि काम गर्ने जिम्मेवारी आएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षसहित केही पदमा निर्विरोध नेतृत्व चयन भए पनि प्रतिष्ठानका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने मतदान हुँदैछ। प्रतिस्पर्धा हुने पदमा मतदानमार्फत नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ।
यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतका कारण परिचित छन्। उनका गीतले नेपाली समाजका विभिन्न पक्षलाई मनोरञ्जनसँगै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै आएका छन्।
शर्माको नेतृत्वमा प्रतिष्ठानले नेपाली लोकसंगीतको मौलिकता जोगाउने, नयाँ पुस्तालाई लोकसंगीततर्फ आकर्षित गर्ने तथा कलाकारका पेसागत समस्या र अधिकारका विषयलाई संस्थागत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।




















