बुटवल, २ कार्तिक । बुटवल–१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान महायज्ञ २०८३ मा कुल ६१ लाख ७५ हजार ५ सय ६१ रुपैया बराबर सहयोग जुटेको छ । दुर्गा मन्दिर ब्यवस्थापन समिति परिसरमा जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निर्माणार्थ असोज २५ गतेदेखि शुरु भएको महायज्ञमा समाजसेवी कृष्ण बहादुर दर्लामी एक्लैले १० लाख १ हजार रुपैया दान गरेका छन ।
कार्तिक २ गते समापन हुदासम्म दर्लामीबाट सबैभन्दा धेरै रकम सहयोग भएको समिति अध्यक्ष/यज्ञ सम्पादन मुल समिति अध्यक्ष ईन्द्र ध्वज मल्लले बताए । यसैगरि अर्का समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाबाट २ लाख १ हजार रुपैयाँ सहयोग भएको छ । रकम सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र र दोसल्लासहित अभिनन्दन गरिएको समितिका महासचिव दिलिपकुमार सुनारले बताए । उनका अनुसार केन्द्र ज्येष्ठ नागरिकहरूका लागि भेटघाट, भजनकीर्तन र आपसी सद्भाव आदानप्रदान गर्ने साझा थलोका रूपमा विकास गरिनेछ ।
करिब सात कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा यसअघि नै क्रियापुत्री भवन र सामुदायिक भवन निर्माण भइसकेका छन् । प्रस्तावित ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणपछि ज्येष्ठ नागरिकलाई सामाजिक तथा धार्मिक गतिविधिमा सहभागी हुन सहज हुने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक सुदिप खत्रीले बताए ।






















