बुटवल, १४ असोज । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा सुरु भएको छ ।
सार्वजनिक ट्रेलरमा मायाप्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात र मानवीय सम्बन्धका विभिन्न पक्षलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ । सामाजिक तथा पारिवारिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढङ्गले समेटिएको चलचित्रले दर्शकलाई हँसाउनेसँगै सम्बन्धका विविध आयामबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन् । उनीहरूसँगै हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन (खबपु), अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय रहेको छ । लामो समयपछि ठूलो पर्दामा फर्किएका हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई चलचित्रको विशेष आकर्षणका रूपमा हेरिएको छ । विविध कलाकारको उपस्थिति र हास्यप्रधान कथावस्तुले चलचित्रलाई दर्शकमाझ थप चासोको विषय बनाएको निर्माण पक्षको विश्वास छ ।
चलचित्रका निर्माता रामनारायण उपाध्यायले सामाजिक विषयवस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरिएको बताए । आफ्नो पहिलो चलचित्र भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझेर आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने उनको भनाइ छ । कला, संस्कृति र पहिचानको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले आफू र आफ्नो परिवार चलचित्र क्षेत्रमा सक्रिय भएको उनले बताए ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता तथा उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी कार्यकारी निर्माता छन् । एभरेष्ट सूर्य बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गरेका छन् ।
चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यसअघि सार्वजनिक ‘माया मान्छौ र’ गीतमा सुरक्षा पन्त र मुकुन भुसाललाई मुस्ताङका रमणीय दृश्यमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ । हास्य, प्रेम र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘चमेलीको पोइ’ असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभरका चलचित्रघरमा प्रदर्शनमा आउने निर्माता सुनीता सापकोटाले जानकारी दिइन् । दशैंको बिदालाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको चलचित्रले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो अब प्रदर्शनसँगै बढ्ने देखिन्छ ।




















