धनगढी,१ असार । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिनका लागि डा. हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन्।
सचिव कोइरालाले घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएर छानबिन गरेर दोषीलाई कारवाही गरिने बताए । गत २९ जेठमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो ।




















