बुटवल,१ असार । शान्ति, सहिष्णुता, सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी कार्यालयले लुम्बिनीमा बृहत् शान्ति पद यात्रा गरेको छ ।
लुम्बिनी स्थित शान्तिदीपबाट लुम्बिनी स्थित अन्तराष्ट्रिय सभा हलसम्म करिब दुई किलोमिटर पदयात्रा गरिएको हो । शान्ति पदयात्रामा लुम्बिनी विकास कोषका पदाधिकारी, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, प्रदेश र जिल्ला प्रहरी प्रमुख , नेपाल प्रहरी सहित सुरक्षा निकाय, उद्योगी व्यवसायीका सङ्घसंस्था सामाजिक संघसंस्था,धार्मिक संघसंस्था, शैक्षिक संघसंस्था लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी विकास कोष परिसरमा आत्महत्या, लागूऔषध दुव्र्यसन र सडक दुर्घटना न्यूनीकरणबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सामाजिक समस्याहरू समाधान गर्न प्रहरी मात्र नभई सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
त्यस अवसरमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । लुम्बिनी प्रदेश प्रहरीले जेठ ३० देखि असार १ सम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।




















