Spread the love

काठमाडौं, १६ वैशाख ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासुन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुटको कानुनी व्यवस्था गरेको भन्दै नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐन २०५८ मा संशोधन गरी जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो उद्देश्यअनुसार आर्जन गरेको रकममा कर छुट दिने व्यवस्था गरिएको जनाएको हो ।

महासंघले उक्त निर्णयले उपभोक्ता संस्थाहरूलाई राहत पुगेको उल्लेख गर्दै नेपाल सरकार, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, अर्थ सचिवालयलगायत सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेको छ । यस्तै, महासंघले नेपालको संघीय संरचना अनुसार खानेपानी तथा सरसफाइ ऐन २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार दर्ता भएका संस्थाहरूलाई समेत कर छुटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघले विगतमा स्थायी लेखा नम्बर (प्यान) लिएर नियमित विवरण बुझाउन नसकेका संस्थाहरूका लागि एक आर्थिक वर्षको विवरण बुझाएर प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको जनाएको छ ।

साथै, उपभोक्ता संस्थाबाट सञ्चालित सामुदायिक खानेपानी आयोजनामा प्रयोग हुने विद्युत् महसुलमा छुट वा अनुदानको व्यवस्था गर्नुपर्ने मागसमेत महासंघले दोहोर्याएको छ । महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमार्फत विद्युत् महसुलमा छुट तथा भ्याट छुटको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्