बुटवल, ६ माघ ।
पाल्पा भैरवस्थान–रुपन्देही परिवारमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बुटवलमा सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले रामचन्द्र कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षमा घनश्याम नेपाल, सचिवमा नारायणप्रसाद खनाल, कोषाध्यक्षमा माधवप्रसाद ज्ञवाली तथा सह–सचिवमा अम्बिका खनाल सर्वसम्मत भएका छन । यसैगरी सदस्यहरूमा मिनबहादुर खत्री, रुद्रबहादुर कार्की, दुर्गा गौतम आचार्य, हरिप्रसाद नेपाल, प्रेमनाथ ज्ञवाली र कल्पना पोखरेल रहेका छन । नवनिर्वाचित अध्यक्ष कोईरालाले संस्थाको उद्देश्य अनुसार समुदायबीच एकता, सहयोग र सामाजिक गतिविधिलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानबाट बसाईसराई, अध्ययनका लागि रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरू बिच आपसी भाइचारा, सद्भाव अभिवृद्धि तथा सदस्यहरूबीच सहयोग र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले पाल्पा भैरवस्थान–रुपन्देही परिवार स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष केशव खनाल, सल्लाहकार नवराज श्रेष्ठले बताए ।
संस्थाको आर्थिक पारदर्शिता र सुशासनलाई थप प्रभावकारी बनाउन विष्णुप्रसाद खनाल संयोजक तथा सदस्यहरूमा लक्ष्मणबहादुर पोखरेल र गोविन्दबहादुर थापा रहने लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ ।
कार्यक्रममा साहित्यकार तथा शिक्षक रमेश ढकालले समुदायको एकता र आपसी सहयोग नै संस्थाको मुख्य शक्ति हुने उल्लेख गर्दै यस्ता संस्थाहरूले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।






















