बुटवल, २७ असार ।
बुटवल उपमहानगरपालिका वडा नं ९ ले आफना टोल समिति संस्थालाई डष्टबिन वितरण गरेको छ । सार्वजनिक स्थानलाई सफा र सुन्दर बनाउ, सके सफा गरौ नसके फोहोर नगरौ नारासहित टोल सरसफाई गर्ने अभियान अन्तरगत शनिबार वडामा रहेका १३ वटा संस्थाहरुलाई डष्टबिन वितरण कार्यक्रम गरेको हो ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, वडा नं ९ का अध्यक्ष प्रदिप श्रेष्ठ, वडासदस्य ईन्दरा ज्ञवाली, सुर्य बहादुर कार्की, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल लगायतले टोल संस्थाका पदाधिकारीहरुलाई शनिबार डष्टबिन हस्तान्तरण गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कालिका पथको विकासमा सबै नगरबासीको साथ र सहयोग जरुरी रहने बताए । जनप्रतिनिधि र केही ब्यक्तिहरुको मात्र चासोकै कारण विकास सफल नहुने ततर्क दिदै उनले कामको आधारमा बजेट दिने ब्यवस्था गरिएको उनले बताए । टोल विकासको माग र आवश्यकताको आधारमा उत्कृष्ट टोललाई १५ लाख, १० लाख र ५ लाख बजेट बिनियोजन गरिने ब्यवस्था गरेको उनले बताए ।
कार्यक्रममा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले कालिका पथलाई रात्रीकालीन पर्यटकिय क्षेत्र बनाउने लक्ष्य अनुसार धेरै काम हुदाहुदै अझ ब्यवस्थित गर्न जरुरी रहेको बताए । सबै नगरबासीहरुले आआफ्नो क्षेत्रबाट योगदान दिन सके धेरै सकारात्मक परिवर्तन आउन सक्ने दाबी गरे ।
कार्यक्रममा वडा नं ९ का अध्यक्ष प्रदिप श्रेष्ठले फाईबरबाट बनेको डष्टबिन धेरै बलियो र उपयोगी भएको भन्दै यसको सहि प्रयोगमा स्थानियबासिन्दाहरुको भुमिका महत्वपूर्ण हुने बताए । वडामा रहेका १३ वटा टोल संस्थाहरुलाई डष्टबिन वितरण गरिएको उनले बताए । टोलमा निस्कने घरायसी, हस्पिटलजन्य, उद्योगका फोहोर ब्यवस्थापनलाई ध्यान दिने तयारीमा रहेको उनले बताए ।
तिनाउ टोल विकास संस्थाका अध्यक्ष रुपा भण्डारीले स्वस्थ्य र सरसफाईको क्षेत्रमा विगतबाट नै लागेको भन्दै टोलमा नेतृत्व लिएर अगाडी बढिरहेको बताईन । उनले पदमा बस्दा काम गर्न धेरै सहज मिल्ने दाबी गर्दै सरसफाईमा डष्टबिनको आवश्यकताबारे प्रकाश पारिन ।






















