बर्दघाट, २७ बैशाख ।
जेसिज सप्ताह अन्तरगत आईतबार बर्दघाटमा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतानमूलक कार्यक्रम गरिएको छ । बर्दघाट जेसिज र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा ट्राफिक सचेतना तथा महिला प्रहरी सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत ३ जना महिला प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका २ जना र बर्दघाट नगरपालिकामा कार्यरत ३ जना महिला नगर प्रहरीलाई सम्मान गरिएको थियो ।
महिला प्रहरीहरुलाई सम्मान गर्दै बर्दघाट जेसिजका अध्यक्ष महेन्द्र गौतमले घरको जिम्मेवारीसँगै आम जनतालाई पनि सुरक्षाको प्रत्याभूति दिन अहोरात्र खटिने प्रहरीलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । मृत्युको कारणमध्ये दुर्घटना पछिल्लोसमय बढ्दो रहेको भन्दै यसलाई न्यूनिकरण गर्न ट्राफिक प्रहरीसंग हातेमालोमा कार्यक्रम अघि बढाएको उनले बताए ।
सम्मानित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीकी ट्राफिक प्रहरी वरिष्ठ नायव निरिक्षक मन्जु कुमारी रानाले यस्तो सम्मानबाट आफुहरुलाई मनोवल उच्च हुने बताउँदै जनताको सेवामा समर्पित हुन हौसला थपिएको बताइन ।
ट्राफिक सचेतना कार्यक्रममा सहभागी हुदै सवारी चालकहरुलाई ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्युनिकरण गर्न अवलम्बन गर्नुपर्ने काम, सडक अनुशासनको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक निरिक्षक माधव प्रसाद चौधरीले चालकहरुलाई जानकारी गराएका थिए । सचेतना कार्यक्रममा दुर्घटना न्युनिकरणको लागि सवारीमा दुर्घटना न्युनिकरण सम्बन्धि स्टिकर टाँस्ने, पर्चा पम्प्लेट वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक चौधरीले सवारी दुर्घटनाको प्रमुख कारण ट्राफिक नियम लाइ हेलचेक्राइ रहेको बताउँदै सवारी अनुशासन प्रत्येक चालकले कडाइका साथ पालना गर्नुपर्ने बताएका थिए । बर्दघाट जेसिजले साप्ताहिक रुपमा विभिन्न कार्यक्रमहरु गर्दै जेसिज सप्ताहको कार्यक्रम सँचालन गरिरहेको छ ।





















