काठमाडौं । धनधान्य तथा ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वसँगै १५ दिन लामो बडादसैँ पर्व औपचारिक रूपमा समापन हुन्छ ।
कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ । धार्मिक विश्वासअनुसार यस रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ । अखिल बलिपूर्तिसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम समाप्त हुन्छ । यस दिन जमरालाई नजिकको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगी विसर्जन गर्ने परम्परा छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु हुने दुर्गा पक्ष विजयादशमीपछि पनि पूर्णिमासम्म जारी रहने धार्मिक मान्यता छ । नवरात्रको समापन विजयादशमीका दिन भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुने परम्परा रहेको छ ।
माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना गरिने भएकाले यस पूर्णिमाको विशेष धार्मिक महत्व रहेको छ । यसलाई कौमुदी पूर्णिमा पनि भनिन्छ। कोजाग्रत पूर्णिमाको रात जुवा खेल्ने परम्परा पनि रहेको छ । यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पूजा गर्ने विधानसमेत रहेको धार्मिक मान्यता छ ।
त्यस्तै, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना भने कार्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ । सोही दिनको साँझदेखि आकाशदीपदान गर्ने परम्परासमेत सुरु हुनेछ ।






















