Spread the love

काठमाडौँ ।

भारतको दक्षिणी राज्य तमिलनाडुमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ । अभिनेता तथा राजनीतिज्ञ सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । चेन्नईस्थित नेहरू रंगशालामा आयोजित समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

विजयको नेतृत्वमा नयाँ सरकार गठनसँगै करिब ६ दशकदेखि तमिलनाडुको राजनीतिमा पालैपालो शासन गर्दै आएका द्रविड दल द्रमुक र अन्नाद्रमुकको वर्चस्व अन्त्य भएको छ । शनिबार २३४ सदस्यीय प्रदेशसभामा १२० सांसदको समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो ।

विजय नेतृत्वको तमिलगा वेत्री कडगम बाट नौ जना मन्त्रीले समेत शपथ लिएका छन् । विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् । राज्यपाल अर्लेकरले उनलाई मे १३ भित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएका छन् ।

मन्त्री पदको शपथ लिने नेताहरूमा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टीके प्रभु र एस कीर्तना रहेका छन् ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा तमिलगा वेत्री कडगमले १०८ सिट जितेको थियो । तर विजय दुई स्थानबाट निर्वाचित भएकाले पार्टीको वास्तविक संख्या १०७ रहनेछ । सरकार गठनका लागि उनलाई कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टीका दुई, माक्र्सवादी कम्युनिष्ट पार्टीका दुई, इन्डियन युनियन मुस्लिम लिगका दुई तथा विदुथलाई चिरुथइगल काचीका दुई सांसदको समर्थन प्राप्त भएको छ ।

कांग्रेसले सरकार गठनका लागि तमिलगा वेत्री कडगमसँग सहकार्य गर्न द्रमुकसँगको सम्बन्ध तोडेको छ । अन्य दलहरूले भने सरकार गठनमा मात्रै समर्थन गरेको र राजनीतिक रूपमा द्रमुक नेतृत्वकै गठबन्धनमा रहने बताएका छन् । फेब्रुअरी २०२४ मा स्थापना भएको तमिलगा वेत्री कडगमले दुई वर्षभन्दा कम समयमै पहिलो निर्वाचनमै १०८ सिट जितेर तमिलनाडुको राजनीतिमा ठूलो तरंग सिर्जना गरेको छ । विजयले आफ्नो पार्टीलाई धर्मनिरपेक्ष राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टीले समाज सुधारक पेरियार, पूर्व मुख्यमन्त्री कामराज, संविधान निर्माता डा. भीमराव आंबेडकर, स्वतन्त्रता सेनानी वेलु नच्चियार तथा समाजसेवी अञ्जलाई अम्माललाई वैचारिक प्रेरणाका रूपमा अघि सारेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्