बुटवल, १७ वैशाख ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जादै गरेका २० जना तीर्थयात्रीहरुको सवारी दुर्घटनामा मृत्यु भएको छ । रोल्पामा विहिबार भएको जीप दुर्घटनामा मृत्यु हुने २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उनले बताए । भौगोलिक विकटता र वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन ।





















