काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ । तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ ।
कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





















