बुटवल, १७ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगितामा विजयी हुदै आयोजक लखन ब्रदर्श युवा क्लब र चाँदनी युवा क्लब, दानापुर अन्तिम चारमा स्थान बनाएका छन । वर्षाका कारण बुधबार रोकिएको फर्साटिकर युवा क्लब र आयोजक लखन ब्रदर्श बीच दोस्रो क्वाटरफाइनल खेल विहिबार खेलाईएको थियो ।
निर्धारित समयतर्फ फर्साटिकरका लागि बिबेक थारुले गोल गरेका थिए भने लखनका लागि निशान्त क्षेत्रीले गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा २–१ गोल अन्तरले विजयी हुदै लखन अन्तिम चारको यात्रा तय गरेको हो । खेलमा लखन ब्रदर्शका गोलरक्षक निशान राना म्यान अफ द म्याच बने ।
त्यस्तै बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चाँदनी युवा क्लबले समपूर्ण युवा क्लब, सुपौलाीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । चाँदनीको जितमा सम्राट श्रीसले निर्णायक गोल गरे । खेलको चाँदनीका कप्तान सुनिल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल तारादल गण, बुटवल र सुनवल फुटबल क्लब, सुनवलबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।






















