बुटवल, १५ साउन ।
युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा जारी रिभोलुसन डान्स प्रतियोगिता २०८३ को वर्कसप राउण्ड सफलतापूर्वक सम्पन्न भएको छ । कुल १७१ जना प्रतियोगी सहभागी रहेको कार्यक्रममा कल्चरल र हिपहप नृत्यका आधारभूतदेखि उन्नत सीप, प्रस्तुति शैली तथा स्टेज परफर्मेन्स सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिईएको छ ।
डि–रेन डान्स स्टुडियोको आयोजनामा असार ६ गते अडिसन शुरु भई विभिन्न चरण जारी छ । नेपाली नृत्य क्षेत्रमा सक्रिय स्थानीय कलाकार मदन नेपालीले कल्चरल डान्सको कोरियोग्राफी तथा वल्र्ड अफ डान्सका विजेता तथा ईण्डिया बेष्ट डान्सर सिजन ४ मा सहभागी भएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसकेका अनुभवी नृत्य निर्देशक साजन तामाङले हिपहप डान्सको कोरियोग्राफी प्रशिक्षण दिएका थिए । प्रतियोगिताको क्वालिफायर राउन्ड साउन १७ गते आइतबार योगीकुटीस्थित दरबार लनमा हुने नेशन डान्सका सञ्चालक साजन गुरुङले बताए ।
उक्त चरणमा सबै सहभागीहरूले वर्कसप राउण्डमा सिकेको नृत्यहरु प्रस्तुति दिनेछन् । निर्णायकहरूको मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रतियोगीहरू सेमिफाइनल चरणका लागि छनोट हुने उनले बताए । प्रतियोगितामा भोटिङ र एसएमएसलाई छनौटको आधारमा बनाईएको छैन । प्रतियोगिताको विजेताले रु. ५५ हजार ५५५, द्वितीय हुनेले रु. ३३ हजार ३३३ तथा तृतीय हुनेले रु. ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछन् ।




















