बुटवल, २२ साउन ।
प्रदेशका पर्यटकिय गन्त्ब्य पहिचान गरि निजी क्षेत्रबाट लगानी गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आग्रह गरेका छन । होटल संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रमको शुक्रबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तरीय सेवासहितको बसाई लम्ब्याउने योजनाहरु बनाउन सके पर्यटकको अभाव नरहे दाबी गरे । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी आवश्यक पूर्वाधार तथा होटल व्यवसायमा लगानी बढाउन निजी क्षेत्रको आजको आवश्यकता भएको भन्दै केवल बाके, बर्दिया र रुपन्देहीलाई केन्द्र बनाउन नहुने सुझाव उनले दिए । स्वर्गद्वारी, नरपानी लगायतका सम्भावनायुक्त पहाडी पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न होटल तथा आवासीय सेवाको अभाव रहेको उनले औल्याए । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको भन्दै अब पर्यटकलाई गन्तव्यसम्म पु¥याउनेसँगै गन्तव्यमा उनीहरूको बसाइ र सेवा सुविधामा ध्यान दिनुपर्ने बताए ।
नेपालमा आउने पर्यटकमध्ये ठूलो हिस्सा भारतीय पर्यटक रहेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई लक्षित गरेर उनीहरूको स्वाद र संस्कृतिअनुसार शाकाहारी खानासहितको होटल तथा पर्यटन सेवा सञ्चालनको राम्रो सम्भावना रहेको बताए । रात्रिकालीन व्यवसाय सञ्चालनका लागि व्यवसायीबाट आएको मागलाई प्रदेश सरकारले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री आचार्यले बताए । भैरहवा र रुपन्देहीमा होटल तथा पर्यटन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न सकिने वातावरण बनाउन सुरक्षा निकाय तथा प्रशासनसँग आवश्यक समन्वय र पहल गर्ने उनले प्रतिबद्धता जनाए । “लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार छ । नीतिगत समस्या तथा कठिनाइ समाधान गर्न सरकार सधैँ निजी क्षेत्रको साथमा रहन्छ,” उनले भने ।
राज्य र निजी क्षेत्रबीचको सहकार्य नै समृद्धिको आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई सम्मान गर्ने संस्कृतिलाई प्रदेश सरकारले आत्मसात गरेको बताए ।
मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षको बजेटमार्फत युवा उद्यमशीलतालाई उच्च प्राथमिकता दिइएको जानकारी दिँदै कृषि तथा उद्यम क्षेत्रमा युवाको सहभागिता बढाउन सहुलियतपूर्ण लगानी तथा ब्याज अनुदानका कार्यक्रम ल्याइएको बताए ।
हान लुम्बिनीको अध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ
रुपन्देहीका पर्यटन ब्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिति गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रविणबहादुर पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितीय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ, महासचिवमा टेकनाथ बस्याल, कोषाध्यक्षमा प्रशान्त त्रिपाठी र सचिवमा दिलीप गौचन चयन भएका छन । त्यस्तै सदस्यहरूमा प्रणदा दीक्षित, ओविन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरीराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहेका छन । यसैगरि समितिको प्रमुख सल्लाहकारमा महेन्द्रनारायण श्रेष्ठ, गोपाल राना तथा प्रेस सल्लाहकारमा दिपेन्द्र बडुवाल मनोनित भएका छन ।





















