बझाङ, २७ साउन ।
बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी तथा दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी गम्भीर घाइते भएका छन् । त्यसैगरी, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन् ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















