बुटवल, १२ वैशाख ।
रामनगर संरक्षण केन्द्र र सयपत्री युवा क्लबले संरक्षण गर्दै आएको रामनगर खेलमैदान आफुहरुको मातहतमा हुनुपर्ने स्थानियहरुले माग गरेका छन । आईतबार बसेको स्थानियहरुको भेलाले रामनगर खेलमैदान समुदायको मातहतमा ल्याउन कानुनी प्रक्रिया अघि बढाउने भएको हो ।
कार्यक्रममा रामनगर संरक्षण केन्द्रका अध्यक्ष जेबी गुरुङले बिसं २०२४ सालमा बसोबासी भएको बेसक्याम्प र रामनगर खेलमैदानको ईतिहासबारे बताउदै दैविप्रकोपको बेला समेत उपयोगी हुने हुदा खेलमैदान स्थानियको मातहतमा राख्नुपर्ने बताए । ‘खेल पूर्वाधार अतिक्रमण गरेपछि हामी बिरोध गरेका हौ ।’–उनले भने । फिल्ड नक्शा हेर्ने र खेलमैदानको समस्या समाधान गर्न आफुहरु कानुनी उपचारमा लाग्ने बताए । सावर्जनिक सम्पत्तिको संरक्षण र सही उपयोग हुनुपर्ने उनको आग्रह छ ।
भेलामा क्लबका अध्यक्ष बिशाल काउचाले पछिल्लोपटक पालिकाको बजेटबाट मैदानको चारैतिर ईन्टरलक लगाउने काममा विद्यालयबाट अवरोध आएपछि बिबाद शुरु भएको बताए । खेलकुद गतिविधि हुने सार्वजनिक जग्गा संरक्षणलाई आफुहरुले अघि बढाएको बताए । आमा समुह, मन्दिर समिति, युवा क्लबहरु संयुक्त रुपमा सहमति भएर आफुहरु लागेको उनले बताए ।
स्थानिय हरि पाण्डेले मानव ज्ञान विद्यालयका पुरानो समिति र कालिका माबि ब्यवस्थापन समितिका पदाधिकारी बिच मर्च गर्दाको सम्झौता बाहिर ल्याउनुपर्ने बताए । स्थानियहरुकै अगुवामा स्थापना भएको कालिका मानव ज्ञान माबि स्तरोन्नतीसंगै सार्वजनिक जग्गाहरु स्थानियहरुको सहमतिमा लाग्नुपर्ने बताए ।
यसैबिच विद्यालयका प्राचार्य दिनेश थापाले विकास निमार्णमा सहकार्य नहुदा समस्या आएको बताए । सरोकारवालाहरुको छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।
कालिका कलेज र लाईब्रेरीले १६ कठ्ठा क्षेत्रफल ओगटेको छ भने क्लबको भवन १ कठ्ठामा छ ।





















