Spread the love

वीरगञ्ज । वीरगञ्जमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल निकालेर बिक्री–वितरण गरेको आरोपमा सात जना पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरबाट पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे आईसीपीबाट जाँचपास भई नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ, वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन्। मियाँ पेट्रोल पम्पका सञ्चालक, हवारी पम्पमा लेखाको काम गर्ने र रफिक क्यासियर रहेको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर र ४६ वर्षीय केशर राम सुनार पनि पक्राउ परेका छन्। उनीहरू क्रमशः ना.७ ख २८०४ नम्बरको ट्याङ्करका सहचालक र चालक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य दुई जनामा हेटौंडा–१४ का ५० वर्षीय मन्द सिंह लामा र २७ वर्षीय उमेश राना मगर रहेका छन्। उनीहरू क्रमशः ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ट्याङ्करसहित सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्