काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा रहेको छ ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुने सम्भावना छ । यस्तै, तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा दैनिक जनजीवन, सडक यातायात तथा अन्य गतिविधिमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





















