Spread the love

काठमाडौँ । भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा उनी साउन ३१ गते नेपाल आउन लागेको स्रोतले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ। उनी पाँच दिनसम्म नेपालमा रहने बताइएको छ । नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ । नेपाल भ्रमणका क्रममा जनरल सेठले प्रधानसेनापति सिग्देलसहित नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटका लागि भने अहिलेसम्म औपचारिक समयतालिका तय भइनसकेको बताइएको छ । स्रोतका अनुसार जनरल सेठले प्रधानमन्त्री शाहसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् । त्यसका लागि समय मिलाउने प्रयास भइरहेको छ । प्रधानसेनापति सिग्देलले समेत भारतीय सेना प्रमुखको प्रधानमन्त्री शाहसँग भेट गराउने पहल गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच साउन १९ गते भएको भेटमा पनि सिग्देलले भारतीय सेना प्रमुख सेठ नेपाल भ्रमणमा आउन लागेको जानकारी गराएको स्रोतको दाबी छ । यसअघि नेपाल भ्रमणमा आउने भारतीय सेना प्रमुखहरूले प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै आएका छन् । सोही परम्परालाई निरन्तरता दिँदै यसपटक पनि जनरल सेठ र प्रधानमन्त्री शाहबीच भेट गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्