बुटवल, ४ चैत ।
रुपन्देहीमा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । आदिमानव रामापिथेकसको बंगरा फेला परेको लुम्बिनी प्रदेशको पहिचान स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित “मिस्टर रामापिथेकस राष्ट्रिय शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२” आयोजना गर्न लागिएको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको सहयोगमा लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको संयुक्त आयोजनामा प्रतियोगिता चैत ६ र ७ गते बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सभाहलमा सञ्चालन हुनेछ ।
बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘हामीले १० वर्षदेखी यो प्रतियोगिताको सोच बनाएका थियौ ।’– उनले भने । बुधबारसम्म २ जना अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएको खेलाडीसहित ६६ जना दर्ता भएको उनले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५ देखि ७५ केजी गरि ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ भने खुला एथलेटिक्स फिजिक्स विधामा प्रतिस्पर्धा गराइनेछ ।
पुरुष बडिबिल्डिङतर्फ प्रत्येक तौल समुहका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले जनही १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ओभरअल टाईटल विजेताले भने नगद २ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यसैगरि महिलातर्फ विजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले नगद ५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिने जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
प्रतियोगिताले शारीरिक सुगठन खेलको प्रवद्र्धनसँगै लुम्बिनी प्रदेशको ऐतिहासिक महत्व उजागर गर्ने, युवाहरूमा फिटनेसप्रति आकर्षण बढाउने र खेल पर्यटनलाई टेवा पु¥याउने लक्ष्य राखिएको उनले बताए । प्रतियोगिता आयोजनामा करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
भिडियो रिर्पोट





















