काठमाडौं ।
गगनकुमार थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा ल्याएपछि नैतिक जिम्मेवारी लिँदै उनले पद त्याग गर्ने निर्णय गरेका हुन् ।
स्रोतका अनुसार थापाले आफ्नो राजीनामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाएका छन् । राजीनामाबारे निर्णय गर्न शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठकले राजीनामा स्वीकृत गर्ने वा अस्वीकार गर्ने विषयमा अन्तिम निर्णय गर्नेछ ।
पार्टीभित्र थापाको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ । एकातिर केही नेताहरूले उनलाई नेतृत्वमा निरन्तरता दिन आग्रह गरेका छन् भने अर्कोतर्फ असन्तुष्ट समूहले भने चुनावी असफलताको जिम्मेवारी लिन दबाब दिँदै आएको थियो ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । थापा स्वयं पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए, जसले उनको नेतृत्वमाथि थप प्रश्न उठाएको थियो ।
पार्टीको आगामी नेतृत्व र रणनीतिमा यस निर्णयले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





















