बुटवल, ५ चैत ।
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते आयोजना गर्ने तयारी तीव्र पारिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार सोही दिन शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार आवश्यक व्यवस्थापन भइरहेको छ ।
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हलमा कार्यक्रम गर्ने तयारी गरिएको छ । शपथ कार्यक्रमका लागि आवश्यक माइक, बत्ती लगायत पूर्वाधार जडानको काम तीव्र रूपमा अघि बढाइएको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको थियो । त्यसअनुसार सिंहदरबारस्थित निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको हो ।
उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको प्रवक्ता गिरीले जानकारी दिएका छन् ।





















