Spread the love

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट सकुशल उद्धार गरेको हो ।

प्रहरीका अनुसार बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरिएको छ । थारुलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ । गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

बालिका हराएको घटनापछि प्रहरीले विभिन्न स्थानमा खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो । खोजीका क्रममा बालिका सकुशल फेला परेपछि घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलले थप अनुसन्धान गरिरहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्