Spread the love

बुटवल । तीन पुस्तादेखि उद्योग व्यवसायमा आबद्ध कसजु परिवारको औद्योगिक विरासतलाई निरन्तरता दिँदै आएका युवा उद्यमी निर्मित कसजु बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा उद्योग उपाध्यक्षका उम्मेदवार बनेका छन् । नरिश्वर शर्मा पौडेलको प्यानलबाट उम्मेदवारी दिएका कसजुले स्वदेशी उद्योगको विकास, रोजगारी सिर्जना र उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

बुटवलको औद्योगिक विकाससँग जोडिएको कसजु परिवारले मुद्रण उद्योगदेखि कपडा, चप्पल, प्रेसर कुकर तथा प्लास्टिकजन्य सामग्री उत्पादनसम्मको यात्रा तय गरेको छ । हजुरबुवा निर्मलप्रसाद कसजुले सुरु गरेको व्यवसायलाई बुवा रञ्जन कसजुले निरन्तरता दिएपछि निर्मितले आधुनिक प्रविधि र नयाँ उत्पादनसँग जोड्दै अगाडि बढाएका छन् ।

कसजु परिवारले २०५८ सालमा ज्ञानी पोलिपाइप इन्डस्ट्रिज स्थापना गरी पानी ट्याङ्की उत्पादन सुरु गरेको थियो । अहिले ज्ञानी ब्रान्डअन्तर्गत पानी ट्याङ्की, एचडीपीई पाइप, पीभीसी तथा सीपीभीसी पाइपलगायतका सामग्री उत्पादन हुँदै आएको छ । बजारको मागअनुसार उत्पादन विस्तार गर्दै नेपाली बजारमा स्वदेशी उत्पादनको पहुँच बढाउने प्रयास भइरहेको कसजु बताउँछन् ।

अस्ट्रेलियाको बसाइ छाडेर पारिवारिक उद्योगलाई निरन्तरता दिन स्वदेश फर्किएका कसजुले करिब डेढ दशकदेखि उद्योग व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनका अनुसार उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उत्पादन विविधीकरणलाई प्राथमिकता दिइएको छ । उद्योगमा दैनिक करिब ७० हजार लिटर क्षमताबराबरका पानी ट्याङ्की उत्पादन हुने गरेको उपलब्ध विवरणमा उल्लेख छ ।

उद्योग व्यवसायलाई नाफामा मात्र सीमित नराखी रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने माध्यमका रूपमा लिनुपर्ने कसजुको धारणा छ । ज्ञानी उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५० जनाले रोजगारी पाएका छन् भने परिवारअन्तर्गतका अन्य उद्योगसमेत जोड्दा करिब तीन सय नेपाली श्रमिक तथा कर्मचारीको रोजगारी यस व्यवसायसँग जोडिएको उनको भनाइ छ ।

कच्चा पदार्थ आयात, उत्पादन लागत, बजार प्रतिस्पर्धा र सरकारी नीतिका व्यावहारिक कठिनाइ उद्योगीले सामना गरिरहेका प्रमुख चुनौती भएको कसजु बताउँछन् । स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन लगानीमैत्री नीति, प्रविधिमा पहुँच, उत्पादनको बजार सुनिश्चितता र राज्यको प्रभावकारी सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

संघमा तीन कार्यकालको अनुभव

कसजुले बुटवल उद्योग वाणिज्य संघमा तीन कार्यकाल उद्योग सदस्यका रूपमा काम गरिसकेका छन् । संघमा रहेर काम गर्दा उद्योगी व्यवसायीका समस्या, संस्थागत समन्वय र निजी क्षेत्रले भोग्नुपरेका चुनौतीबारे प्रत्यक्ष अनुभव हासिल गरेको उनी बताउँछन् ।

उद्योग उपाध्यक्षमा निर्वाचित भए उद्योगीका समस्या सम्बन्धित सरकारी निकायसम्म पु¥याउने, नीतिगत अवरोध समाधानका लागि पहल गर्ने र उद्योगमैत्री वातावरण निर्माणमा संघको भूमिका प्रभावकारी बनाउने उनको योजना छ ।

बेरोजगारी र वैदेशिक पलायनको समस्या समाधान गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै कसजुले उद्योग स्थापना र सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने बताउँछन् । निजी क्षेत्रको विकासबिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले उद्योगी व्यवसायीबीच सहकार्य र सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । नरिश्वर शर्मा पौडेलको प्यानलबाट उद्योग उपाध्यक्षका उम्मेदवार बनेका कसजुले उद्योग क्षेत्रको व्यावहारिक अनुभव र संघमा हासिल गरेको संस्थागत ज्ञानलाई नेतृत्वमा उपयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन पुस्ताको औद्योगिक अनुभव, उत्पादन क्षेत्रको व्यावहारिक ज्ञान र संघमा काम गरेको अनुभवलाई आधार बनाएका कसजुको उम्मेदवारी उद्योगीका समस्या समाधान, स्वदेशी उत्पादनको प्रवद्र्धन र बुटवलको आर्थिक गतिविधि विस्तारका मुद्दासँग जोडिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्