बुटवल, २५ असोज । देशका विभिन्न क्षेत्रमा विपद्का कारण चाडपर्व विगतमा जस्तो उल्लासपूर्ण हुन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । लुम्बिनी निर्माण व्यवसायी संघ, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा आईतबार भएको विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी ब्यवसायीहरुले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दुःखको यस घडीमा आपसी सहयोग, सद्भाव र मानवीय सेवाभावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार नवराज श्रेष्ठले निर्माण व्यवसायीको हकहित संरक्षणसँगै संघ धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको बताए । उनले व्यवसायीबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने गरेको अनुभव सुनाए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष रुद्र शर्मा, पूर्व अध्यक्ष तथा सल्लाहकार छेदीलाल श्रीवास्तवलगायतले शुभकामना दिए ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष रमेश बेलबासेले चाडपर्वबाट नेपालीहरुमाझ आत्मियता, सामाजिक सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
यसैबीच, संघको बैठकले आगामी मंसिर १९ र २० गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको महासचिव प्रितम रौनियारले जानकारी दिए ।



















