काठमाडौ,२८ असोज ।
आज देखि यस वर्षको मनसुन नेपालको सबै भूभागबाट पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको जनाएको छ । मौसमविदहरुका अनुसार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने छ ।
पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ । यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।





















