Spread the love

बुटवल । भारतको उत्तर प्रदेशका युवा उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने गरि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले ‘कनेक्ट यूपी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा इला रिसोर्टमा आयोजित दुईदिने रणनीतिक योजना तथा रिट्रिटमा आगामी कार्यकालका वार्षिक कार्यक्रम, बोर्डको जिम्मेवारी र संस्थागत रणनीतिबारे छलफल गर्दै नयाँ योजना तय गरिएको हो ।

युवा उद्यमशीलता, व्यावसायिक सहकार्य र सदस्य विकासलाई केन्द्रमा राख्दै नयाँ कार्ययोजना अघि बढाएको अध्यक्ष पाण्डेयले बताए । सदस्यबीचको आपसी सम्बन्ध, व्यावसायिक नेटवर्क विस्तार, ज्ञान आदानप्रदान र सामूहिक सहकार्यलाई प्राथमिकता दिइएको अध्यक्ष पाण्डेयले बताउदै आफ्नो कार्यकालमा सदस्यका व्यवसायबीच व्यावसायिक सहकार्य विस्तार, युवा उद्यमीको ज्ञान तथा नेतृत्व क्षमता विकास र नयाँ व्यावसायिक अवसरको खोजीलाई प्राथमिकतामा राखिने बताए । आगामी वर्ष ‘सीएनआईवाईईएफ इग्नाइट’ आयोजना गर्ने, भारतको उत्तर प्रदेशसँग युवा उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न ‘कनेक्ट यूपी’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको उनले बताए । यसमार्फत सीमापार व्यापार, लगानी र व्यावसायिक साझेदारीका सम्भावना खोजिने पाण्डेयले बताए ।

कार्यक्रममा सीएनआईवाईईएफ राष्ट्रिय गभर्निङ काउन्सिल सदस्य आशिष अग्रवालले नेतृत्व, बोर्डको भूमिका, संस्थागत सहकार्य र रणनीतिक योजना कार्यान्वयनबारे प्रशिक्षण दिएका थिए । राष्ट्रिय लर्निङ चेयर चिराग सरावगीले बोर्ड सदस्यहरूको भूमिका र जिम्मेवारीबारे मार्गदर्शन गरेका थिए । निवर्तमान अध्यक्ष राजन कसजुले अघिल्लो कार्यकालका अनुभव साझा गर्दै नयाँ नेतृत्वलाई संस्थालाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

कार्यक्रमका क्रममा अघिल्लो कार्यकालका फाइनान्स चेयर अर्जुन पाठकले वित्तीय विवरण तथा जिम्मेवारी नयाँ बोर्डलाई हस्तान्तरण गरे । वर्तमान फाइनान्स चेयर अभिषेक पाठकले उक्त जिम्मेवारी ग्रहण गरेका थिए । रणनीतिक बैठकपछि कार्यकारी निर्देशक रुस्तम कँडेलको सहजीकरणमा नयाँ बोर्डको पहिलो बैठक बसेको थियो । अध्यक्ष पाण्डेय पर्यटन तथा व्यावसायिक क्षेत्रमा अनुभव हासिल गरेका युवा व्यवसायी हुन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्