काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित आठ राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। काठमाडौंको थापागाउँस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्दै २८ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरिएको हो।
अवधारणा पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले हस्ताक्षर गरेका छन्।
त्यस्तै, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि अवधारणा पत्रमा हस्ताक्षर गरेका छन्।
मोर्चाको नेतृत्व निश्चित अवधिका लागि हुने र निर्णय सकेसम्म सर्वसम्मतिबाट गरिने अवधारणा पत्रमा उल्लेख छ। सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्णय गर्ने व्यवस्था गरिएको छ।
मोर्चाका निर्णयको सम्मान गर्नु सबै सदस्यको कर्तव्य हुने तथा घटक दलहरूले सार्वजनिक रूपमा मोर्चाको निर्णयविपरीत गतिविधि गर्न नहुने उल्लेख छ। कुनै विषयमा विवाद उत्पन्न भए आपसी समझदारी र सहमतिबाट समाधान गर्ने सहमति पनि गरिएको छ।
त्यस्तै, आगामी निर्वाचनमा साझा रणनीति निर्माण तथा आवश्यकताअनुसार संयुक्त सहभागिता जनाउने, आन्दोलन, जनसङ्घर्ष तथा जनजीविकासम्बन्धी अभियान संयुक्त रूपमा सञ्चालन गर्ने विषय अवधारणा पत्रमा समेटिएको छ।
राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दामा साझा धारणा निर्माण गरी संयुक्त पहल गर्ने पनि मोर्चाका घटक दलहरूबीच सहमति भएको छ।





















