काठमाडौं,२२ साउन ।
नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच आज भएको छलफलमा गाभीले नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग,सह–वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो ।
गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल गाभीले नेपाल सरकारललाई राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ वटा खोपमध्ये ५ वटा खोपमा सह–लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।



















