Spread the love

लुम्बिनी,१२ जेठ । बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । बौद्ध चिनियाँ तिर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए ।

विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यहरुको अभिलेख नामक पुस्तक सोमबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेज सहितको यात्रा विवरण महत्वपूर्ण रहेको बताए ।

तिर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरुको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलहरुको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताए । उनले विश्वविद्यालयले निरन्तर रुपमा यस्ता महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्दै जाने बताए ।

लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताए ।सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४० लाख रकमको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताहरुको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजना अनुसार अनुसन्धान कार्यमा खर्च गरिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्