बुटवल, २२ वैशाख ।
बुटवलमा पछिल्लो समय युवाहरूमाझ हुक्का तान्ने चलन तीव्र रूपमा बढ्दै गएको छ । चिया पसलदेखि होटल तथा रेष्टुरेन्टसम्म हुक्का अनिवार्यजस्तै बन्दै जाँदा यसको आपूर्ति भने अवैध रूपमा भइरहेको तथ्य सार्वजनिक भएको छ ।
सोमबार प्रहरीले ठूलो परिमाणमा हुक्का तथा सम्बन्धित सामग्रीसहित एक जनालाई पक्राउ गरेपछि बुटवलमा हुक्काको अवैध कारोबारको जालो उजागर भएको हो । छापाका क्रममा ३५ वर्षीय पिङ्कु जयसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले भाडामा लिएको गोदाममा हुक्का तथा त्यससँग सम्बन्धित सामग्रीहरू भण्डारण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त गोदामबाट करिब ४३ लाख रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरिएको छ ।
बरामद वस्तुहरूमा हुक्का भेप, कोइला, फ्लेवर, हुक्का सेट, बेस, पाइप, चिलिम लगायतका सामग्री उल्लेख्य मात्रामा रहेका छन् । पक्राउ परेका जयसवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।





















