भैरहवा, ८ बैशाख ।
रुपन्देहीमा ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा मंगलबारदेखि शुरु भएको प्रतियोगितामा एमएसएमटी सिए नौतनवाले विजयी शुरुवात गरेको छ । एमएसएमटीले बुद्ध क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो । यसैगरि मंगलबार नै भएको दोस्रो खेलमा भरतपुर क्रिकेट एकेडेमीले बुटवल–११ लाई १ सय ३० रनले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले ८ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि सुरज पौडेलले ३९, अजय शाहीले ३५ र मिथलेश यादवले २५ रन बनाए । एमएसएमटीका हिमान्सु सिंहले ३, सेहबाज शेषले २, आदित्य कौसिफ र मोहम्मद जैदले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको एमएसएमटीले १४ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । उसको जितमा सक्षम शर्माले ४९, पिन्टु यादवले अविजित २७ र आर्यन अग्रहरीले २३ रन बनाए । बुद्धका हरिकेष मुराउ, अजय त्रिपाठी र मन्जुश्री यादवले १–१ विकेट लिए । खेलमा हिमान्सु सिंह प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा टस जितेर भरतपुरले ४ विकेटको नोक्सानीमा २ सय ६३ रनको उच्च योगफल बनायो । उसका लागि गौरव विकले शतक र रोशन झाले ६६ रनको योगदान गरे । भरतपुरका सुधन श्रेष्ठ र युवराज सेनले १–१ विकेट लिए । विशाल लक्ष्य पछ्याएको बुटवल– ११ भने १६.५ ओभरमा १ सय ३३ रन समेटियोे । उसका लागि प्रवेश सारुले ३५ र युवराज सेनले ३३ रनको योगदान दिए । भरतपुरका अपराजित पौडेलले ४, कमल थापाले ३ विकेट लिए । खेलमा गौरव विक म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दैै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश थापाले युवा खेलाडीलाई प्रोत्साहन मिल्ने गरि महत्वपूर्ण प्रतियोगिता गरिएको बताए ।






















