बुटवल, २५ साउन ।
कक्षाकोठामा विद्यार्थीमा देखिने व्यवहार तथा गतिविधिमा आएको परिवर्तन मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्ने भन्दै रुपन्देहीमा शिक्षकहरूलाई बालकिशोर मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिएको छ । विद्यार्थीमा देखिने असामान्य व्यवहार, एक्लै बस्ने, पढाइमा रुचि घट्ने, लगातार उदास वा चिन्तित देखिने, साथीभाइबाट टाढिँदै जाने, रिसाउने तथा आक्रामक व्यवहार गर्ने, विद्यालयमा नियमित नहुने र एकाग्रतामा समस्या देखिने जस्ता लक्षण मानसिक स्वास्थ्य समस्याका संकेत हुन सक्ने विषयमा शिक्षकलाई जानकारी गराइएको हो ।
लायन्स क्लब अफ बटौलीको आयोजनामा शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका शिक्षकहरुलाई सोमबार एक दिने बाल–किशोर मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको लायन्स डिष्ट्रिक ३२५ पी का डिजी सन्दिप कशौधनले उद्घाटन गर्दै विश्वमा नै मानसिक स्वास्थ्यको समस्या बढ्दो रुपमा रहेको बताए । विगत लामोसमय आखामा काम गर्दै आएको लायन्स पछिल्लोवर्ष मानसिक स्वास्थ्यलाई प्रााथमिकतामा राखेर प्रभावकारी कार्यक्रम गरिरहेको उनले बताए ।
कार्यक्रममा सहजकर्ता मानसिक रोग विशेषज्ञ डा. विनोद पौडेलले बालबालिकाको मनोविज्ञान बुझ्न जरुरी रहेको बताए । विशेषगरि एउटै जस्तो देखिएपनि अटिजम, अन्डर एक्सपोजर, सेलेक्टिभ म्युटिजम, एन्जाईटी, डिप्रेसन, बुलिङ जस्ता विषयका बारेमा उनले विस्तृत बुझाउदै यसका उपचार विधि र परामर्श बारे जानकारी दिए । ‘बालबालिकाहरुमा देखिने हरेक घटनालाई मसिनो गरि केलाउन जरुरी छ ।’– उनले भने । शिक्षकबाट उनिहरुको शारिरिक विकासको अवस्था, मानसिक अवस्थाहरु बुझ्न आग्रह गर्दै समयमा नै पहिचान गर्न सके धेरै राम्रो हुने समेत बताए । मानसिक स्वास्थ्य समस्या एकैपटक हुने नभई बिस्तारै बढ्दै जाने उनको तर्क छ । हरेक मानिस मानसिक, शारिरिक रुपमा स्वास्थ्य हुन जरुरी रहने उनले बताए । दैनिक जिवनको काममा सक्षम, आफ्नो क्षमताको पहिचान गर्न सक्ने अवस्थालाई स्वास्थ्य रहेको मानिने समेत उनको तर्क छ ।
क्लबका अध्यक्ष श्रीधर पोखरेलले आफुले नै अनुभव गरेको मानसिक समस्याको बारेमा उदाहरण पेश गर्दै शहरी क्षेत्रका बालबालिकाहरुमा मानसिक स्वास्थ्यको समस्या बढ्दो रहेको बताए । यसैलाई मध्येनजर गरि विद्यालय र समुदाय केन्द्रित कार्यक्रमलाई आफुहरुले जोड दिएको उनको दाबी छ । लायन्स क्लब अफ बटौलीले सिग्नेचर परियोजना अन्तरगत यसलाई अघि बढाएको समेत उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयले उपयुक्त समयमा गरिएको कार्यक्रमका रुपमा लिएको बताए । बालबालिकाहरुमा देखिने सामान्य लक्षणहरु जो प्रत्यक्ष शिक्षकहरुको निगरानी पत्ता लगाउन सहज हुने तर्क दिदै समयमा पहिचान गर्न सकिने उपायहरुबारे ज्ञान राम्रो ज्ञानहरु पाएको बताए । यसैबिच उनले विद्यालयको भौतिक विकासमा योगदान दिने गरि छात्र/छात्रा शौचालय निर्माणका लागि क्लबबाट सहयोग गर्न आग्रह गरे ।
बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा व्यवहारमा आउने परिवर्तन सम्बन्धी महत्वपूर्ण जानकारी एवं सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ क्लबबाट आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।






















