Spread the love

काठमाडौँ, ८ बैशाख ।
नेपालले मंगलबार दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई ८ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा पाएको यस विजयपछि नेपालले शृंखला १–१ को बराबरीमा टुंगायो ।

कुशल भूर्तेल र कुशल मल्लले पहिलो आठ ओभरमा ६७ रनको आक्रमक शुरुवात गरेका थिए । नेपालले १ सय २९ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्न सफल भयो । यूएईले पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
कुशलद्वयले पहिलो ६ ओभरको पावर प्लेमा विना क्षति ५१ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । मल्ल आउट भएपछि यो साझेदारी टुटेको थियो । मल्लले १७ बलम १ चौका र २ छक्कासहित १९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका सन्तोष यादव १ रनमा स्टम्प आउट भए ।

३४ रनमा जीवनदान पाएको फाइदा उठाउँदै भूर्तेलले ८४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् । अक्टोबरमा ओमानलाई उसैको गृह मैदानमा ६९ रन बनाएयता यो संरचनामा उनको पहिलो अर्धशतक हो । भूर्तेल ५७ बलम ८४ रनमा अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २८ रनमात्र बनाउन सकेको थियो । तीव्र बलर हेमन्त धामीले खेलको पहिलो बलमै मोहम्मद वासिमलाई एलबीडब्लु आउट गरि नेपाललाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । दोस्रो ओभरमा नन्दन यादवले अलिसान सराफुलाई १ रनमा विकेटकिपर लोकेश बमबाट सानदार क्याच गराए ।

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नन्दन र शाहवले १–१ विकेट लिए । नन्दनले ४ ओभरमा ४४ र शाहवले ३ ओभरमा २९ रन खर्चे । सन्तोषले १ ओभर बलिङ गर्दै ११ रन खर्चे । नेपालले पहिलो खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष र शाहव आलमलाई खेलाएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्