बुटवल । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा सम्पन्न चौथौ अन्तराष्ट्रिय पिस म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन् । निर्धारित ४२ किलोमिटरको दुरी उनले २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै रोकायाले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक समेत प्राप्त गरे ।
आर्मी क्लबकै सुशील कुमार शाहीले दोस्रो भए । उनले उक्त दुरी २ घण्टा १८ मिनेट १६ सेकेन्डमा पूरा गरे । उनले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । आर्मीकै धावक नरेन्द्र सिंह राउतले २ घण्टा १९ मिनट ५८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको चिनियाँ धावक वाङ चीले २ घण्टा २१ मिनेट ५ सेकेन्डमा पुरा गरी चौथो, तथा केन्याका धावक जुलियस मुरेयुकी वाहमले २ घण्टा २३ मिनेटमा दौड पूरा गरी पाँचौँ स्थान प्राप्त गरे ।
यता २१ किलोमिटर हाफ म्याराथनमा त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा १७ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गर्दै पहिलो स्थान प्राप्त गरिन । उपाधीसंगै उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ४० सेकेन्डमा पार गरेर दोस्रो स्थान प्राप्त गर्दै नगद १ लाख रुपैयाँ प्राप्त गरिन् । नेपाल आर्मीकी निशा सार्कीले १ घण्टा १९ मिनेट १९ सेकेन्डमा दुरी पुरा गरेर तेस्रो भइन् । उनले नगद ८० हजार रुपैयाँ प्राप्त गरिन् । आर्मीकी सुनसरी रोकायाले १ घण्टा २१ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर चौथो स्थान, चिनियाँ धाविका रुवान सियाङले १ घण्टा २२ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेर पाचौं स्थान प्राप्त गरिन् ।
नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, नाइजेरिया लगायतका देशबाट धावकहरू सहभागी थिए । बुद्ध जन्मस्थल लुम्बिनीको लुम्बिनी स्क्वायरबाट सुरु भएको म्याराथन दौड भैरहवाको गौतम बुद्ध विमानस्थल अगाडि पुगेर पुनः लुम्बिनीमै पुगेर सम्पन्न भएको थियो ।
शान्ति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा आयोजित प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी दौड र वाकथन समावेश कार्यक्रम समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले पुरस्कार प्रदान गरेका थिए ।























